माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ । 

बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै, सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।


बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडि बढाउन एकता समायोजन समिति गठन गर्ने सम्भावना छ ।

मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म  समायोजन समिति गठन भएको छैन ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान पुस १६ गते सकिँदैछ । यस्तै, प्रचण्ड नेतृत्वको सरकारले पुस ११  गते एक वर्ष पुरा गर्दैछ ।