मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम नआए मन्त्रीहरु हेरफेर गर्ने बताएका छन् । उनले मन्त्रीहरु फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् ।
शुक्रबार मोरङको मिक्लाजुङ–५ मा नेकपा माओवादी केन्द्रको तीन महिने ‘विशेष रुमापन्तरण अभियान’ अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् ।
उनले आफ्नो कार्यकाल एकवर्ष पुगेको बताउँदै पुस १० गते विशेष सम्बोधन गर्नेसमेत जानकारी दिए । उनले ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’ प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सोही क्रममा लाभाखोला बृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । साथै, उनले चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता जनाउँदै उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।