बालाचतुर्दशीमा पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो



काठमाडौँ । पशुपतिनाथलगायत देशभरका शिवालयमा सोमबार बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाइन्छ ।

त्रयोदशीको दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले भोलिपल्ट पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भिड लागेको थियो ।


बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न पशुपति परिसरमा सयौँको भिड लागेको थियो । उनीहरू रातभर जाग्राम बसी भजन, नाचगान गरेका थिए । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।