बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने गठबन्धनको निर्णय



काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय गरेका हुन् ।


छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने र आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने भएको छ ।

गत शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।  

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।