प्रस्तावित सर्वोच्चका न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ सकियो



काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित छमध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनीहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।


पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि विशेष सक्रियता, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशद्वयले जोड दिएका छन् ।

न्यायिक सुशानमा समर्पण र जोड, सजाय निर्धारणसम्बन्धी मार्गदर्शको विकास र विस्तार, न्यायमा पहुँच अभिवृद्धि, न्यायपालिकाको वस्तुस्थिति र विश्लेषण, न्याय सम्पादनका मार्गदर्शक आधारसहितको कार्ययोजना र प्रतिबद्धता उनीहरुले प्रस्तुत गरे । यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुनेछ ।