प्रधानमन्त्रीलाई विपिनका बाबुआमाको आग्रहः छोराको रिहाइका लागि पहल गरिदिनुस्



सुदूरपश्चिम । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले छोराको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।


सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सकारात्मक पहल सरकारले गरिरहेको बताएका थिए ।

विपिनका बुबाआमाले यसअघि पनि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रिहाइको पहलका लागि बिन्ति गरेका थिए । विपिन हमासको नियन्त्रणमा रहेको इजरायली सेनाले पुष्टि गरेको भए पनि उनको पछिल्लो अवस्था अज्ञात छ ।

सरकारले विपिनको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेको बताउँदै आएको छ । परराष्ट्रमन्त्री साउदले अन्तर्राष्ट्रिय समुदाय तथा हमासका सहयोगी शक्तिका नेताहरूसँग पनि विपिनको रिहाइका लागि पहल गरेको केहीअघि बताए पनि ठोस रूपमा काम हुन सकिरहेको छैन ।