प्रधानमन्त्रीको प्रश्न- धारामा पानी नआउने, बिलचाहिँ आइरहने समस्या के हो ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारामा पानी नआउने तर बिल आउने समस्या तुरून्त हल गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा खानेपानी मन्त्रालयको योजना र प्रगतिबारेको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पानी नआउने धाराका उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘धारामा पानी नआउने तर बिलचाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन् । त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् ।’


मेलम्ची खानेपानी आयोजनाको काम दुई सिफ्टमा भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने छ ।’ उनले पहाडी र हिमाली क्षेत्रहरुमा महिलाहरुले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको भन्दै यसबाट महिलाहरुमा आङ खस्ने समस्या देखिएकोप्रति समेत आफ्नो ध्यानाकर्षण भएको बताए ।

बैठकमा खानेपानीमन्त्री महिन्द्र राय यादवले खानेपानी आयोजनाहरुमा संरचनागत सुधार जरुरी रहेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याहरूको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने बताए ।