प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बालकुमारीमा अश्रुग्याँस प्रहार



काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर कोटेश्वर–सातदोबाटो सडकमा प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

प्रदर्शनकारीले पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन हिडेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका छन् । मन्त्री ज्वाला र उनका पीएसओ भने सुरक्षित छन् । उनीहरूले सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् । ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै आन्दोलन थालेका हुन् ।


ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर अनुर्तीण भएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरिएको थियो । अदालतले आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । तर ईपीएस कोरिया शाखाले भने अदालतमा रिट हालेका १८ जनालाई मात्र फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेपछि अन्य युवाहरु आक्रोशित बनेका हुन् । उनीहरु १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्र्तिण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो ।