नेपाल सुपर लिगमा वीरगञ्जको शानदार जित



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिगमा काठमाडौं रेजर्स पुछारमा रहेको वीरगञ्ज युनाइटेडसँग ४–१ गोल अन्तरले पराजित भएको छ । शीर्ष स्थानमा रहेको पोखरा थन्डर्सबाहेक अरु ३ टिमको होड खुला जस्तै रहेको छ । काठमाडौंलाई पराजित गरेको वीरगञ्ज ८ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

पराजित भएको काठमाडौं ९ अंकसहित पाँचौं स्थानमा रहेको छ । अब अन्तिम खेलबाट प्लेअफको टुंगो लाग्ने अवस्था आएको छ । खेलको २० औं मिनेटमा काठमाडौंले अग्रता लिएको थियो ।


जुनियर ओनगुन नेकेनगुले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ललितपुरमा विलियम ओसेदुले ह्याट्रिक तथा सुनिल खड्काले एक गोल गरेपछि वीरगञ्ज ४–१ को जित निकाल्न सफल भयो । ओसेदु जारी सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् भने फराकिलो अन्तरको जित निकाल्ने टोली पनि वीरगञ्ज बनेको छ ।

ओसेदुले पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा गोल गरेपछि वीरगञ्जले बराबरी गरेको थियो । दोस्रो हाफको सुरुमै सुनिल खड्काले गोल गर्दै वीरगञ्जलाई २–१ ले अघि बढाए ।

५५ औं र ५७ औं मिनेटमा ओसेदुले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि दुवै तर्फबाट थप गोल नभएपछि वीरगञ्जले फराकिलो जितका साथ प्लेअफ सम्भावना कायमै राख्दा गत सिजनको डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई अन्तिम खेलसम्म कुर्नु पर्ने अवस्था आएको छ । अब अन्तिम खेलमा काठमाडौं र ललितपुर भिड्ने छन् ।