नेपालको पर्यटन पुरानै लयमा फर्किएको छ : पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् ।

प्रचण्ड नेतृत्व सरकारको वर्ष दिन पुगेको अवसरमा आज मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेका बताए ।


आफू मन्त्री भइसकेपछि एक महिनामा ई टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको उनले बताए ।

मन्त्री किरातीले १२ वर्षदेखि बिग्रिएर बसेको नेपाल वायु सेवा निगमको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै छ वटा जहाज हुने बताए । हवाई उडान हुन नसकेको २२ वटा खाली विमानस्थल सहज ढङ्गले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको उनले जिकीर गरे ।

उलने भने, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । म मन्त्री भएर आएको एक महिनामा नेपाल वायु सेवा निगममा ई टिकेटिङ लागू गरेका थियौँ । दुर्गम क्षेत्रहरूमा उडान गर्नका लागि जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ ।’

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेशिन जडानको काम अन्तिम चरणमा पुर्‍याएको बताए । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उनको भनाइ छ ।