निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएक छन । 

कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताए । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था,  त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हँुदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छु”, प्रधानमन्त्री दाहालले भने, “एक वर्षमा हामीले कति काम गर्यौ, कहाँ के कति समस्या रहे, त्यसको गम्भीर अध्ययन गरेर भावी योजना बनाउँछु ।”


प्रधानमन्त्री दाहालले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताउँदै भने, “जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो परिणाम दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ, हामीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य संयन्त्र कृषि र भूमि भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसकिए समृद्धि हासिल गर्न नसकिने बताए । उनले भने, “जलविद्युत् र उद्योग पनि महत्वपूर्ण छन् । उद्योग पनि कृषिमा आधारित छन् । कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

रासायनिक मलका लागि सधैँ विदेशी उत्पादकको मात्रै भर पर्न नसकिने जनाउँदै प्रधानमन्त्री दाहालले अब स्वदेशमा नै मल कारखाना स्थापना गर्नेतर्फ सोच्नुपर्ने बताए । रासायनिक मलको मात्रै भर नपरी कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्ने नीति बनाइनुपर्नेमा उनको जोड थियो । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट विगतकोभन्दा भिन्नरुपमा तर्जुमा गर्नुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्रीले त्यसका लागि चाँडै सरोकारवालासँग छलफल गरिने बताए । उनले भने, “यसपटक विगतमाभन्दा भिन्न बजेट, नयाँ ढङ्गले प्रस्तुत गर्ने सोच्दैछु । त्यसका लागि पुस महिनाभित्रै बृहत् छलफल गर्छौं । नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्छौं, तपाईहरूले पनि त्यसरी नै सोचिराख्नु होला ।”

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले कृषिका सात प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए । उनले नदी प्रणालीलाई जोडेर सतही सिँचाइको प्रबन्ध, उत्पादनशील बीउको प्रबन्ध र किसानलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरण, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाइनुपर्ने बताए । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, हरूवाचरूवालगायत समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराए । 

मुख्यसचिव वैकुण्ठ अर्यालले कृषि क्षेत्रको उत्पादकत्व बढाउन तथा भूमिको वैज्ञानिक व्यवस्थापन गर्न ‘प्याकेज’ जरूरी भएकामा जोड दिँदै राज्यका अनुसन्धानमुखी निकाय गम्भीर हुनुपर्ने बताए ।प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक प्रगति सन्तोषजनक रहे पनि लक्ष्यमुखी नभएकामा ध्यानाकर्षण गराए । 

कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले रासायनिक मल खरिद र वितरणको काम यस वर्ष निकै प्रभावकारी भएको बताउँदै आगामी वर्षायामका लागि अहिलेदेखि नै व्यवस्थित तयारी गर्नुपर्नेमा जोड दिए । उनले अनुदानको ढाँचा तथा एकीकृत कृषि ऐनको प्रारम्भिक मस्यौदा तयार भएको, उत्पादनमा आधारित अनुदानको प्रक्रिया अगाडि बढेको र कृषि बीमालाई प्रभावकारी बनाउन प्रयास गरिएको जानकारी दिए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अर्का सचिव रेवतीरमण पौडेलले अण्डा र मासुमा नेपाल आत्मनिर्भर रहेको र दूधमा आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिँदै दुग्धजन्य उत्पादन वृद्धि तथा पशुचौपायामा देखिएका सङ्क्रामक रोग नियन्त्रणमा योजनाबद्धरूपमा काम गर्नुपर्ने बताए । 

अर्थसचिव कृष्णहरि पुष्करले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै स्रोतको सीमितता र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गर्ने प्रयास जारी रहेको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले मन्त्रालय जग्गा प्रशासनमा बढी केन्द्रित हुनुपरेकाले भूमि प्रशासनमा आधुनिकीकरण गर्न, सहकारी क्षेत्रका समस्या सम्बोधन गर्दै प्रभावकारी नियमनसँगै नतिजा दिन आफूहरू क्रियाशील रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले नयाँ र पुराना गरी करिब १५ लाख सेवाग्राहीले आयोगमा निवेदन दिएका तथा कामको चाप र साधनस्रोतबीचको अन्तर सम्बोधन गर्न जरूरी भएको विचार व्यक्त गरे ।