काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन् ।
शुक्रवार बिहान सुनसरीको भोक्राहा नरसिंहस्थित इनरुवा सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्ने बताएका हुन् । उनले भने- ‘एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्दैछु ।’
उनले देशमा निराशाकै खेती गर्ने र त्यसको मात्र चर्चा चलिरहेका बेला विद्यूत सबस्टेशनको सञ्चालन विद्यूत विस्तार र आपूर्तिमा नयाँ आशा जगाएको र रक्त सञ्चारको प्रभाव भएको पनि बताए । ‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौं’, प्रधानमन्त्री दाहालले भने ।
उनले एक/डेढ वर्ष भित्रमा नेपालमा सम्पूर्ण रूपले उज्यालो हुने दाबी पनि गरे। ‘अहिले विद्यूत ९८ प्रतिशत जनतामा पुगेको छ । एक डेढ वर्ष पनि शतप्रतिशतमा पुर्याउने लक्ष्य लिएका छौं’, प्रधानमन्त्री दाहालले भने ।