दलहरु भ्रष्टाचारमा डुबेका कारण विभिन्न प्रकरणहरु सार्वजनिक भइरहेका छन् : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरु डुबेका कारण विभिन्न प्रकरणहरु सार्वजनिक भइरहेको बताएका छन् ।

विराटनगरमा शनिवार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने बताएका हुन् । उनले अहिले मुलुकका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए । एनसेल प्रकरणमा राजनैतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाका भ्रष्टाचार भएको उनले बताए । नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।


कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।