टेनिसीमा शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवितै फेला



संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका चार महिनाका शिशु जीवितै फेला परेका छन् ।

उनीहरूको घुम्ती घरलाई शनिबारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो । ती चार महिनाका शिशु लडिरहेको एउटा रुखमा जीवितै फेला परेका थिए।


त्यसबेला झमझम पानी परिरहेको थियो । ती शिशु, उनका एक वर्षका दाजु र परिवारका सदस्यहरूलाई साधारण चोटपटक लागेको छ । आँधीले सबैभन्दा सुरुमा उनीहरूको घुम्ती घरको छानो उडाएको २२ वर्षिया आमा सिड्नी मुरले बताइन् ।

उनका प्रेमी र बच्चाका पिताले लर्ड नामक ती शिशुलाई जोगाउने प्रयास गरेका थिए तर उनीहरू पनि आँधीमा फस्न पुगे । टोर्नेडो रोकिएपछि मुर भग्नावशेषबाट निस्कन सकेकी थिइन्।

उनका छोरा प्रिन्सटन उनीसँगै थिए। त्यसपछि उनी र उनका प्रेमीले लर्डको खोजी गर्न थाले । त्यो बेला पानी परिरहेको थियो र उनीहरूले आफ्नो सन्तान ‘सानो रुख जस्तै देखिने कोक्रो’ मा फेला परेको मुर बताउँछिन्।