खेतीयोग्य जमिन बाँझो हुँदै जाँदा समस्या थपियो : प्रधानमन्त्री



काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रको मूल आधार कृषि उत्पादनका लागि सरकारले जोड दिने नीति लिएको बताएका छन् ।

बुधबार पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा गाउँगाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जानेक्रम बढेको भन्दै गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाँदा समस्या थपिएको बताए ।


‘वर्तमान सरकार हरतरहले मल खाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यावसायिक कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आइरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गरायो । र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको छु ।’

आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत् रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ । अहिले सरकारको जोड जलविद्युत् क्षेत्रमा रहेको बताउँदै उनले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको छ । देशभित्र विद्युत् खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु पर्दैन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो । मैले लोडसेडिङ अन्त्य गर्छुभन्दा धेरै मान्छेले पत्याएनन्, कतिले त्यसलाई हाँसो ठट्टाको विषय बनाए । तर प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरियो ।’

अहिले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो पनि भनेको थिएँ– मैले राम्रा काममात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु ।’