कोशीको सभामुखमा राप्रपाको दाबी, गठबन्धन सकारात्मक



काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ ।

९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरिएको बताए । राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाले बताए ।


राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ । प्रदेशसभाको आगामी बैठक शुक्रबारका लागि बोलाइएको छ ।

स्रोतका अनुसार गठबन्धन दल राप्रपालाई सभामुख दिएर आफ्नो पक्षमा पार्न सकारात्मक रहेका छन् ।

कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ ।