काठमाडौँ महानगरभित्रका फार्मेसी पसल सुधार्न मेयर शाहको १० दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका मेयर बालेन साहले बुधबार सामाजिक संजालमार्फत अनधिकृत रुपमा औषधि पसल संचाल भइरहेको जनगुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा अनधिकृत व्यक्तिबाट चिकित्सकको प्रेस्किप्सनबिनै जथाभावी औषधि बिक्री वितरण भइरहेको पाइएको उल्लेख गरेका छन् । त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर साहले निर्देशन दिएका छन् ।


उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ । यसका साथै नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौं । त्यसैले हामीले यही महिनाको २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौं ।’

महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइए बन्द गर्ने उनले चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौं । यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क मार्फत महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौं ।’