काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र एकसय ५४ वटा ढुङ्गेधारा रहेको अध्ययनले देखाएको छ । अलान फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदनले ६१ वटा (४०प्रतिशत) पानी आउने, ५० वटा (३२प्रतिशत) पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६प्रतिशत), हराएका २१ वटा (१४प्रतिशत) र फेला नपरेका (नभेटिएका) १२ वटा (८प्रतिशत) रहेका उल्लेख गरेको छ ।
अध्ययनका क्रममा हिटीलाई यिनै ५ प्रकारमा बाँडेर तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त विवरणअनुसार १ सय २१ हिटी भौतिक रुपमा भेटिएका छन् । ३३ वटाले आफ्नो निशान गुमाइसकेका छन् । वडागत रुपमा हेर्दा वडा नम्बर १५ र ३२ गरी २ वटा वडामा १२—१२ वटा हिटी छन् । वडा नम्बर ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन ।
वडा नम्बर १२ र १३ मा १/१ वटा, वडा नम्बर ३, २१ र २९ मा २/२ वटा, वडा नम्बर २ र ३० मा ३/३ वटा हिटी छन् । वडा नम्बर ५, २८ र ३१ मा ४÷४ वटा, वडा नम्बर २० मा ५ वटा, वडा नं. १, ८, १९, २६ मा ६/६ वटा हिटी छन् । वडा नम्बर १८ मा ७ वटा, वडा नम्बर ४ र ७ मा ८/८ वटा, वडा नम्बर ९ र १६ मा ९/९ वटा, वडा नम्बर १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा नम्बर १० मा १३ वटा हिटी छन् । हिटी र यसको परिसर संरचना कायम राखिएको छ भने यस्ता हिटीलाई काम गर्ने प्रकारका राखिएको थियो । पानीको प्रवाह नभएका हिटीलाई काम नगर्ने हिटीका रुपमा राखिएको थियो ।
बेलैमा ध्यान नदिए लोप हुने जोखिममा रहेका हिटीलाई संकटमा रहेका (लोपोन्मुख) वर्गमा राखिएको थियो । अवलोकनका समयमा हिटीको संरचनामा क्षति पुगेको, पानीको बहाव स्थितिलाई ध्यान नदिई वनस्पति वा अन्य वस्तु राखिएको, अन्य कुनै संरचना वा क्रियाकलापले हिटीको अस्तित्वलाई बाधा गरिएको अवस्थामा रहेका हिटीलाई यस वर्गमा राखिएको थियो र हिटी थियो भनिएको ठाउँमा अवलोकन गर्दा हिटीको कुनै दृश्य प्रमाण फेला नपरेको, यस अघिको तथ्याङ्कमा पनि नभेटिएको हिटीलाई हराएका वर्गमा राखिएको थियो । यसअघिको तथ्याङ्कमा उल्लेख भएका तर अहिले स्थलगत रुपमा हेर्दा नदेखिएका ढुङ्गेधारालाई फेला नपरेको वर्गमा राखिएको थियो ।
हिटी जल प्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन् । यससँग प्रकृति र प्राणी सभ्यता अन्तरसम्बन्धित छन् । यसको व्यवस्थापनका लागि जलचर, विरुवा तथा प्राकृतिक रुपमा उम्रिने रैथाने झारपातसँग सम्बन्ध हुन्छ । काठमाडौँमा राजकुलो, पोखरी र पानीका नालीहरूको सञ्जाल बनाएर जीवन पद्धतिसँग पानीको उपलब्धता जोेडिएको छ । सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नाता छ । यसको महत्वलाई बास्तुकलाले सम्पन्न ढुङ्गेधाराको संरचनामा देख्न सकिन्छ ।