काजगात किर्ते प्रकरण : निगमका थप २ अधिकृत पक्राउ



काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो रहेकाे आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।

नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई आज (बुधबार) विमानस्थलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि मंगलबार वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो । वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको निष्कर्ष छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर भिजिट भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उक्त प्रकरणमा यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।