ओलीको चेतावनी- एमालेलाई सिध्याउँछु भन्नेहरु छेउमा आए कच्याककुचुक हुन्छन्



भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकालाई ‘कुहिएको फल’को संज्ञा दिएका छन् । मध्यपहाडी लोकमार्ग यात्राअन्तर्गत बुधबार भोजपुर सदरमुकाममा आयोजित सभालाई सम्बाधेन गर्दै उनले अहिलेको गठबन्धन सरकार ‘कुहिएको फलजस्तो भएको र यसलाई झारेन भने आफैं झर्ने टिप्पणी गरेका हुन् ।

उनले गठबन्धन सरकार धेरै चल्ने र टिक्नेवाला नभएको बताउँदै प्रचण्ड नेतृत्वको सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । ‘यो कुहिएको फलजस्तो भएको छ, यसलाई झारेन भने पनि आफैं झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन’ अध्यक्ष ओलीले भने । उनले एमालेलाई कमजोर नठान्न समेत चेचावनी दिए ।


उनले एमालेले सिध्याउँछु, मार्छु भन्ने सपन नदेख्न चेतावनी दिँदै भने, ‘एमालेसँग एक्लै कोही लड्न सक्दैनन् । कसैले दाहिने हात, कसैले देब्रे हात कसैले जीउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोज्दैछन् । तर, हामीलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’ अध्यक्ष ओलीले मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै संकटमा पर्ने दाबी गरे ।