काठमाडौं । महोत्तरी– १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।
संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गरी सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।
निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।
मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।