एमाले संकल्प यात्राको टोली आज धनकुटा प्रवेश गर्दै



काठमाडाैँ । नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा प्रवेश गर्दैछ। बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको १५ औँ दिनमा अभियान टोली बिहीबार आज धनकुटा पुग्दै छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन्।

बिहीबार बिहान नौ बजेतिर टोली लेगुवा पुग्ने कार्यक्रम रहेको छ। आज धनकुटाका लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन् । आज यी ठाउमा कार्यक्रम सकेर अभियान तेह्रथुम प्रवेश गर्ने छ र वसन्तपुरमा आमसभा हुने छ।


यात्राका क्रममा लेगुवामा ज्येष्ठ नागरिकसँग भेटघाट कार्यक्रम राखिएको छ। त्यस्तै पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया हुने छ।

बिहीबार र नै अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्य प्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।

जोरपाटीमा संकल्प यात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम मात्रै छ । सिधुवामा भने कृषक र कृषि क्षेत्र सम्बद्ध सरोकारवालासँग अन्तरक्रिया राखिएको छ ।

सिधुवाको कार्यक्रम पछि दिउँसो वसन्तपुरमा सभा राखिएको छ । वसन्तपुरको सभा धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा गर्न लागिएको हो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन्।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।