काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो । सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।
आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् । स्पेक्ट्रलाइट २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो । जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ ।
बुधबार आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो । एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको थियो।
अहिले एनसेलमा २० प्रतिशत स्थानीय साझेदार रहेको सुनिभेरा क्यापिटल भेन्चरमा समेत आचार्य परिवारको स्वामित्व छ । यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी थियो ।
एनसेलबाट आजियाटा समूह बाहिरिनुको प्रमुख कारण भनेको दूरसञ्चार ऐन २०५३ नै मानिएको छ । दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ । ६ वर्षपछि एनसेल सरकारी स्वामित्व जाने देखिएपछि आजियाटाले नेपालबाट बाहिरिएको बताइएको छ ।