एनसेलको शेयर खरिद-बिक्रीमा ठूलै आर्थिक चलखेल भएको छ : वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेलको शेयर खरिद–बिक्रीमा राज्यलाई ठूलो आर्थिक घाटा हुनेगरी चलखेल भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता मा पुनले यस्तो दावी गरेका हुन् । उनले अहिले रकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने समेत बताउँदै बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको बताए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने उनले बताए ।

नेता पुनले भने, ‘सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । आउनेबित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताो बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो । भोलिपल्टै मन्त्तिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ । यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन । सिंगो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा सरकारको साथमा छ ।’

एनसेल प्रकरणमा करछली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रष्ट हुनेगरी तथ्यहरु बाहिरिएको उनको भनाइ छ । उनले सरकारले सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई अघि बढाउन प्राथमिकता दिएको बताए ।