काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको अपार कर छलीको गहिरो अनुसन्धान जरुरी रहेको बताएका हुन् ।
‘६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिद–बिक्री शंकास्पद छ । यसलाई रोकेर यो अपार कर छलीको गहिरो अनुसन्धान जरुरी छ। अनियमितता विरुद्ध सम्पूर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पूर्ण रुपले एकढिक्का भएर उभिने संकेत सकारात्मक छ,’ शर्माले भनेका छन् ।
एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्न उनको आग्रह छ । ‘अत्यावश्यक ऐन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं । बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं,’ उनले अगाडी भनेका छन् ।