काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।
उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या आएपछि हिजो राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए ।
उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।
श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेको छ ।
यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उपचार गएिको थियो ।
भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।