उद्योग दर्ता गर्दा प्रक्रियागत झन्झट अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा उद्योग दर्ता गर्दा पनि प्रक्रियागत कारणले महिनौं लाग्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।


उनले भने- ‘एउटा उद्योग दर्ता गर्दा पनि प्रक्रियागत कारणले महिनौं लाग्ने अवस्था छ । प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरणमा असर गरिरहेको छ । कम्पनी दर्ता सम्वन्धी कानुनी सुधार गर्नुपर्नेछ । हामीसँग अहिले एकैस्थानमा उद्योग दर्ता सम्वन्धी प्रक्रिया एकै स्थानबाट सेवा दिनका लागि कानुनी रुपमा एकल विन्दु सेवा केन्द्र पनि रहेको छ । तर, अधिकार प्रत्यायोजन लगायत कानुनी संरचना नहुँदा यसको प्रभावकारी उपादेयता रहेको देखिँदैन। अब यसमा कानुनी र संरचनात्मक रुपान्तरण गरी प्रभावकारी बनाउनुपर्नेछ ।’

उनले कर्मचारीलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सशक्त निकायको रूपमा विकास गर्नुपर्ने बताउदै नयाँ उद्योग दर्ता, नवीकरण व्यवसाय दर्ता तथा जनशक्तिको भिसा लगायत व्यवस्थापनका लागि १ हप्ताभित्रमा काम सक्ने कानुन तर्जुमा र उद्योग व्यवसाय दर्ताका लागि सुरुकै बिन्दुबाट सबै प्रकारका स्वीकृतिहरू उपलब्ध हुने कुराको सुनिश्चित गर्न टाइम कार्डको व्यवस्था गर्ने विषयसमेतको कार्यान्वयनका लागि विशेष कार्ययोजना तयार पार्न निर्देशन दिएका छन् ।