उत्तरपूर्वी अस्ट्रेलियामा सोमबार अचानक आएको बाढीले बाटो काटेर गोहीहरूलाई सहरहरूमा बगाउँदा अलपत्र परेका बासिन्दाहरू अस्पतालको छतमा आश्रय लिएका छन् ।
उद्धार टोलीले रातभरिमा तीन सयभन्दा बढी मानिसलाई बाहिर निकालेको र बाढीबाट कटान भएको इलाकामा सहयोगका लागि सैन्य हेलिकप्टर पठाइएको प्रहरीले बताएको छ ।
उत्तरी क्विन्सल्यान्डमा करिब चार सय किलोमिटरसम्म फैलिएको समद्री तटवर्ती क्षेत्रमा क्षतिको सूचना प्राप्त भएको थियो । सोमबारको बाढीले क्विन्सल्यान्डमा अर्बौं डलरको क्षति हुने कोषाध्यक्ष क्यामरन डिकले बताए ।
वुजल वुुजलको आदिवासी बस्तीस्थित अस्पतालको छतमा बिरामीसहित नौ जना सुरक्षाका लागि रातभर झुन्डिएर बसेका थिए । मानिसहरू अहिले निराश मुद्रामा रहेको वुजल वुजल आदिवासी शायर काउन्सिलका प्रमुख कार्यकारी किले ह्यान्सलोले बताए ।
प्रहरीका अनुसार सोमबार दिउँसो बाढीको पानी बढ्नुअघि मानिसहरू सुरक्षित स्थानमा चढेका छन् । उष्णकटिबन्धीय वर्षावनको पहाडी भित्री क्षेत्रले घेरिएको दुर्गम वुजल वुजल अस्ट्रेलियाको सबैभन्दा वेफाइदाजनक क्षेत्रमध्येको एक हो ।
सहरको केन्द्र फोहोर पानी र हिलोले भरिएको ह्यान्सलोले बताए । “उक्त पानीमा अहिले गोहीहरू पौडी खेलिरहेका छन्”, उनले भने ।