अन्तःशुल्कको तीन हजार थान स्टिकरसहित व्यवसायी पक्राउ



विराटनगर । राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन् ।

गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ब्रान्डका गुट्खा र अन्य सूर्तीजन्य पदार्थको खोलमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।


प्रयोग भइसकेका स्टिकर संकलन गरी पुनः प्रयोग गर्ने उद्देश्यले उनले बिक्री गर्ने गरेको र त्यसबाट ठूलो परिमाणमा राजस्व छली हुँदै आएको पाइएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार व्यवसायी राजवंशीले सूर्तीजन्य पदार्थमा लगाइने अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार सूर्तीजन्य पदार्थमा लगाइएका ती स्टिकर संकलन गरी बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने करेन्ट नामको गुट्कामा पुनः प्रयोगको लागि पठाउने गरेको पाइएको छ ।

साना व्यवसायीबाट ३ रुपैयाँमा किनेर राजवंशीले बुटवलको उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रतिगोटा स्टिकर विक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । राजवंशीको पसलमा छापा मार्ने क्रममा प्रहरीले ३ हजार १ सय ४० वटा अन्तःशुल्क स्टिकर बरामद गरिएको जनाएको छ । अन्तःशुल्क स्टिकर दुरुपयोग गर्ने राजवंशीलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयम बुझाइएको छ ।