सुशासन पवर्द्धन एवं सेवा प्रवाहलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छः मन्त्री शर्मा



सुनसरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन पवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।

नेपाल पत्रकार महासंघ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताइन्।


मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै संक्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुंग्याइनने जानकारी दिइन्। उनले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुंग्याइने बताइन्।

मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक संकट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताइन्।

त्यसअवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञाप्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।