विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन साइबर ब्युरोको आग्रह



काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन आग्रह गरेको छ ।

ब्यूरोल आज एक सूचना जारी गर्दै पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरूले विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्ता झूठा अश्वासनमा नपरी, ठगिनुबाट जोगिन अनुरोध गरेको छ ।


वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी “यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनुहुन !” भनी दिने गरेको पाईएको सीआईबीले जनाएको छ । यसरी विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले “हुन्छ, म तपाईले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु !” भन्ने गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

तर उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यम (Fraud/Scam Money) बाट प्राप्त गैरकानूनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गरि र गराइदिने गरेको तथ्य यस ब्यूरोको अनुसन्धानबाट खुल्न आएको हुँदा विदेशमा दुःखरपरिश्रम गरी कमाएको रकम Fraud / Scam Money मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सृजना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनआग्रह गरेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।