काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनमा संलग्न ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले सोमबार र मंगलबार गरि राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनमा संलग्न ११ जनाविरुद्ध उच्च अदालत पाटन, उच्च अदालत वुटवल तथा जिल्ला अदालत रसुवामा अभियोग दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले सुदिप शर्मा, फुसाङबु शेर्पा र सायो दिगंलाइ विदेशी विनिमय अपचलनको कसुरमा पाँच करोड ६७ लाख माग दाविसहित रसुवा जिल्ला अदालतमा पुस २ गते अभियोग दायर गरेको छ । उनिहरुले विदेशी विनिमयको पनि अपचलन गरेको हुनाले अभियोग दायर गरिएको जनाइएको छ ।
त्यस्तै विभागले अभियुक्तहरु करम दिन सेख र केशव चापागाई उपर राजस्व चुहावटको कसुरमा ६८ लाख मागदावि गर्दै मुद्धा दायर गरेको छ । चिनिको भन्सार चोरी पैठारी गरेको अभियोगमा निजहरु उपर उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रणको दण्डात्मक रणनीति अन्तर्गत अनुसन्धान तथा अभियोजनालाई आधार बनाउँदै अभियोग दायर गरेको हो ।
राजस्व चुहावटको कसुरमा अभियुक्तहरु चक्र बहादुर कुँवर, निमकाजी श्रेष्ठ, खेम बहादुर गुरुङ, दिपक कार्की र सन्देश लामिछाने उपर एक करोड बहत्तर लाख सजाय मागदावी गरी हिजो मंगलबार उच्च अदालत पाटनमा अभियोग दायर गरिएको छ । अभियोग पत्र दायर संगै भन्सार जाँचपास कार्यमा संलग्न दुई कर्मचारिहरु निलम्बनमा परेका छन् ।
राजस्व चुहावटकै कसुरमा विभागले राजेन्द्र प्रसाद व्वजु विरुद्ध छ करोड ६२ लाख सजाय मागदावि गरी उच्च अदालत बुटवलमा अभियोग दायर गरेको छ ।