पर्यटकको पर्खाइमा तीनचुले



ढोरपाटन ।  विशाल पहाडको शिरमा रहेको समथर मैदानँबाट देखिने अनगिन्ती हिमशृङ्खला र रमाइलो वातावणलाई नियाल्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्खिरहेको  छ, बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी भेडीखोरस्थित तीनचुलेले  । 

प्रचारप्रसारको अवभामा ओझेलमा परेको यो स्थल पदयात्राका लागि पनि उपयुक्त भए पनि पूवार्धार निर्माण नहुँदा फाट्टफुट्ट आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । मध्यपहाडी लोकमार्गदेखि गाडीमा साढे तीन घण्टा र करिब चार घण्टाको पैदल यात्रामा तीनचुले पुग्न सकिन्छ । 


ग्रामीण जीवनशैली, कला, संस्कृति र परम्परासँग रमाउँदै तीनचुले पुग्न सकिने भए पनि अहिलेसम्म यसमा कसैको ध्यान पुग्न सकेको छैन । बढ्दो सहरीकरणका कारण पछिल्लो समय पदयात्रामार्फत गाउँ घुम्ने संस्कृति बढ्दो छ । हरेक महिना सहरी क्षेत्रबाट बागलुङका थुप्रै गाउँमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

घुम्न आउने युवायुवतीले पुराना कलासंस्कृति र रीतिरिवाजलाई बढी मन पराउनाका साथै अग्ला पहाडका चुचुरोसम्म पुग्ने गरेका छन् । तीनचुले पनि उनीहरुका लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ । तीन हजार चार सय मिटरको उचाइमा रहेको तीनचुले क्षेत्रमा अहिलेसम्म कुनै पनि पूर्वाधार बन्न सकेको छैन । 

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिका साथै दर्जनौँ हिमशृङ्खला र  बागलुङ जिल्लाका विभिन्न क्षेत्र र म्याग्दी गुल्मी, अर्घाखाँची जिल्ला पनि  अवलोकन गर्न सकिने स्थानीयवासी हमाल घर्तीमगरले बताए । तीनचुलेमा पुग्ने पर्यटक गोठाला हिँड्ने गोरेटो बाटो हुँदै जाने गरेको गरे पनि अहिलेसम्म व्यवस्थित पदमार्ग बन्न नसकेको उनले बताए । 

नयाँ वर्ष, फागुपूर्णिमा, दसैँ र तिहारका बिदाको समयमा बढी पर्यटक तीनचुले जाने गरेको उनको भनाइ थियो । स्थानीय, प्रदेश र केन्द्र सरकारले यहाँ लगानी गर्नसके उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने भए पनि  भौगोलिक विकटताका कारण ओझेलमा परेको घर्तीमगरले उल्लेख गरे ।

“यो ठाउँ ग्रामीण जनजीवन र पाखापखेरा मन पराउने पर्यटकका लागि निकै राम्रो गन्तव्य हो, बडिगाड गाउँपालिकाको कार्यालय  रहेको मध्यपहाडी लोकमार्गबाट जलजला हुँदै रणसिंहकिटेनीबाट यहाँ पुग्न सकिन्छ तर अहिलेसम्म कुनै पनि संचरना बनेको छैन, यहाँ पुग्नेहरु पुरानो गोरेटो बाटो प्रयोग गरेर जाने गरेका छन्”, उनले भने, “राज्यले थोरै भए पनि लगानी गरेर आधारभूत संरचना बनाइ प्रचारप्रसार गरे धेरै पर्यटक भित्र्याउन सकिन्छ, यस ठाउँ साहसिक पर्यटकका लागि पनि निकै उपयुक्त छ ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले यहाँ अहिलेसम्म यो क्षेत्रका लागि लगानी गर्न नसकिएकामा आगामी वर्षदेखि योजना बनाएर प्रवद्र्धनका कार्य गरिने बताइन ।

तीनचुलेसँगै रहेको शिवधुरीमा शिव मन्दिर निर्माण भएको र  यस वर्ष रु पाँच लाख विनियोजन गरिएकामा  सो रकममले पर्यटकको सहजताका लागि पदमार्ग निर्माण गरिने उनले जानकारी दिइन  । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटरको उचाईमा रहेको शिवधुरीलाई तीनचुलेसँग जोडेर आकर्षक गन्तव्यका रुपमा विकास गरिने अध्यक्ष अधिकारीले जोड दिईन । 

उनले भनिन, “बडिगाडमा थुप्रै पर्यटकीय स्थल छन्, सबै ठाउँमा एकै पटक लगानी गर्न सक्ने अवस्था छैन, हरेक वर्ष फरक फरक ठाउँमा लगानी गर्दै आएका छौँ, यस वर्ष पनि शिवधुरीलगायतका ठाउँमा बजेट विनियोजन गरेर काम गर्ने क्रममा मा छौँ, तीनचुले पनि हाम्रो प्रमुख गन्तव्यमा पर्छ, यसको विकास गरेर प्रचारप्रसारका साथै पर्यटन प्रवद्र्धन गर्नेतर्फ लागेका छौँ ।”