काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुने फाइनलमा उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।
लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
धनगढी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेता बनेको थियो ।
त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० गोलले पराजित हुदै बाहिरिएको थियो ।