नक्कली शरणार्थी प्रकरण : खाँणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ ।

न्यायाधीश कोइरालाको इजलासको राय अनुसार खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।


जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाँणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।