जग्गाको हक महिलाको नाममा हुनुपर्छः उपसभामुख राना



ललितपुर। उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छिन्।

सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखिन्।


“जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ । यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ । हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ । जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ”, उपसभामुख रानामगरले भनिन्।

नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरे।