कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रहेको बताएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् । “मेरो निमन्त्रणामा भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अघिल्लो महिना दुबईमा भएको कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो” उनले भने ।  


कोप–२८ सम्मेलनमा पहिलोपटक छुट्टै साइडलाइन बैठक आयोजना गरिएको जानकारी गराउँदै उहाँले अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकको आवाजलाई नेपालले नेतृत्व गर्ने बताए । ‘कोप–२८’ का उपलब्धिको रक्षा र विकास गर्नका लागि आवश्यक काम गर्ने बताउँदै प्रधानमन्त्री दाहालले जलवायु न्याय र समानताको अवधारणालाई नेपालले अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने समय आएको उल्लेख गरे ।

जलवायु सङ्कटको मुख्य कारक रहेको कार्बन उत्सर्जन घटाउन र जलवायु वित्त परिचालन गर्ने दायित्व पूरा गर्न विश्व समुदायलाई हामी घच्घच्याइरहने छौँ”, उनले भने, “अन्तरमन्त्रालय संयन्त्र र विज्ञसम्मिलित अन्तर्राष्ट्रिय वार्ता टोली बनाई त्यसलाई पूर्ण म्यान्डेटसहित संयुक्त राष्ट्र सङ्घलगायतमा बहुपक्षीय वार्ताहरूमा नेपालका प्राथमिकता प्रस्तुत गर्न र अवसर जुटाउन परिचालन गरिँदैछ ।”

यसका साथै, कार्बन व्यापारमा पहुँच र जलवायु परिवर्तनसम्बन्धी हरित जलवायु कोष, हानी र नोक्सानी कोष लगायतमा नेपालको पहुँच बढाउन र छिटो सहयोग प्राप्त गर्न नियमित लबिङ गर्दै देशमा आवश्यक संस्थागत संयन्त्रलाई सुदृढ गरिने उनले बताए ।