काठमाडौं । एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको बताएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले हालसम्म सबै कर कानुन पालना गरेको र कुनै कारोबारलाई लिएर कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गर्ने बताएको हो ।
एनसेलले भनेको छ, ‘एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’
एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर अर्थात ५३ अर्ब 38 कराेड रहेको समेत बताएको छ । ‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ । यस बाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउनेछ,’ एनसेलले भनेकाे छ ।
साथै उसले एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको समेत बताएको छ ।