दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् ।
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा सङ्कट केही हदसम्म समाधान हुने बताए ।
कुलेखानी जलविद्युत् आयोजना बनेको ४० वर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको भन्दै वाग्लेले यस आयोजना ऊर्जा सुरक्षाको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण हुने उल्लेख गरे । आयोजना निर्माणका क्रममा स्थानीय जनसरोकारवाललाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
वाग्लेले भने, “वर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत् उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत् उत्पादन पनि घट्दे जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनुपर्छ ।” बूढीगण्डकी र नलसिंङगाड विद्युत् आयोजना जलाशययुक्त भएकाले त्यसको पनि चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
विद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र, मुआब्जा र विस्फोटक पदार्थको आयातमा मुख्य समस्या हुने हुँदा यी तीनवटै समस्या समाधानका लागि नीतिगत रुपमा नै सम्बोधन हुनुपर्ने वाग्लेको भनाइ थियो । तीन प्याकेजमा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०७८ भदौ १४ मा ठेक्का सम्झौता भएर कार्यान्वयनमा आएको थियो ।
उक्त आयोजनाको बाँध निर्माणका लागि नदी डाईभर्सन कार्य सम्पन्न भई बाँध निर्माण सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम प्याकेज–२ मा परेका छन् । यसका लागि विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।