आदर्श र सिद्धान्तलाई स्थापित गर्दै अघि बढ्नुपर्छ : सभापति देउवा



गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । 


नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने ।

कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उहाँको भनाइ थियो । सभापति देउवाले भने– “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।” 

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र शङ्कर भण्डारी, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।