आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो : ओली



मान्म (कालिकोट) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । 

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कनुभएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको   कुचेष्टा सफल नहुने बताए। “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो ।” उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।” 


लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । “त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।” उनले भने, “नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पुयाऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।”