काठमाडौं । डा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् । बस्नेतले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै डा केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन् ।
मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा ध्यानाकर्षण भएको भन्दै डा केसीले विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन् । उनले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु।’
स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नै नभएको डा केसीले बताएका छन् । ‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,’ उनको आरोप छ।