सुन तस्करीकाे हव बन्दै रसुवागढी नाका



काठमाडाैँ । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी  रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ,  आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।


उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा आजै बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।  

गत आइतबार रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले बताएको छ । अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।