ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकीछन् ।
ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘वर्तमान युग सूचना प्रविधिको हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ ।’
विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गरिन् ।
संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्ने बताइन् ।