सांसद संजय गौतमको संसदमा मौन उभिएर विरोध



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संसदमा मौन उभिएर विरोध गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा शून्य समयमा बोल्ने पालो आएपछि उभिएका सांसद गौतमले केही नोबोली उभिएर विरोध गरेका थिए ।


सांसद गौतमले मौन उभिएर विरोध जनाएपछि प्रतिपक्षी सांसदहरूले टेबल ठोकेर गौतमलाई समर्थन जनाएको दृश्य रोचक देखिएको थियो । सांसद गौतम आफ्नो आसनमा उभिएर मौन रहेपछि सभामुख घिमिरेले दोहोर्‍याएर उनलाई बोल्न समय दिइएको स्मरण गराएपनि गौतम मौन उभिएका थिए ।

सांसद गौतमले यसअघि आफ्नो निर्वाचन क्षेत्रमा पुल निर्माण नभएको भन्दै निर्माणस्थलमै अनसन बसेका थिए । सरकारसँग सहमति गरेर अनसन तोडे पनि सहमति कार्यान्वयन नभएको भन्दै पटकपटक बोल्दै आएका गौतमले यस पटक भने मौन रहेर विरोध गरेका छन् ।