सशस्त्र प्रहरीको एपिएफ केपी ओली कपको सेमिफाइनलमा



पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनीसँग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आइतबारको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ । पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनीसँग ५ रनले् हार बेहोरेको हो ।


घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदीप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् ।

१८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । लुम्विनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।

यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्विनीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धु्रव सुनारले समान २३÷२३ रनको योगदान दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।

वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट हात पार्दा चन्द्र पौडेलले २ विकेट लिए । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।