सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सडकआश्रित मानवहरुको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी संघीय संसदको आउँदो अधिवेशनमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८० समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले असहाय, अनाथ, अशक्त, जोखिममा परेका र सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न विधेयक तयार गरी संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका हुन् ।


उनले भने, ‘बेवारिसे, असहाय, अनाथ, अशक्त र जोखिममा परेका मानसिक असन्तुलन भएका सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउँदो अधिवेशनमा विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले मानव सेवाआश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि बताए । प्रधानमन्त्रीले सातै प्रदेशमा आश्रमलाई अशक्त्तहरुलाई ओसार प्रसार गर्ने सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

उनले भने, ‘मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार तथा उत्थानलगायत अत्यावश्यक सेवाहरुमा सहयोग गर्न सरकार प्रतिबद्ध छ । आजै हामीले तपाईंहरुले भनेजस्तो सातै प्रदेशमा अशत्तहरुलाई ओसार प्रसार गर्ने गाडी उपलब्ध गराउने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’