संघमा पनि सहमतिको सरकार आवश्यक : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।


उनले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरुलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए । डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरु प्रदेशलाई नदिइएका कारण संघीयता बद्नाम हुँदै गएको धारणा व्यक्त गरे ।

उनले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए । राजनीतिक दलका नेताहरुको एकात्मक सोचका कारण संघीयता बद्नाम भइरहेको उनको भनाइ छ ।