राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय



काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यसअघि माघ ११ गते निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।


त्यस्तै भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।