भूकम्प प्रभावितलाई हिउँदअघि नै अस्थायी आवासको व्यवस्था गर्न राज्यव्यवस्था समितिको सुझाव



काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ । शनिबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्दार र उपचारमा प्रधानमन्त्रीले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनर्निर्माण प्रभावकारी बनाउन विभिन्न सुझावहरु दिएको हो ।

समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्रीसँग भने, ‘हामी प्रभावित क्रममा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्यौं । उद्दार र उपचारमा प्रधानमन्त्री स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन्। १३ घण्टाभित्र उद्दारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौं । यसका लागि समितिको तर्फबाट सरकारलाई विशेष धन्यवाद छ ।’


त्यस्तै, नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्रीको सक्रियताप्रति आभार प्रकट गरेका छन्।
उनले भने, ‘प्रभावित क्षेत्रमा प्रचारका भोकाहरू पनि देखिए । तर, प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्दारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ। देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो। म यसको उच्च प्रशंसा गर्दछु ।’

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।